शुक्रबार, मंसिर १२, २०७७

प्रधानमन्त्रीको नयाँ सरकारी निवास बन्दै, यस्ता छन् निजी र सार्वजनिक भवनका आकर्षण

नेपालखोज २०७६ असोज २ गते १३:१४

२ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्रीको सरकारी निवासका लागि नयाँ भवन बनाउने भएको छ । यसकालागि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले  भवनको शिलान्यास गरे । बालुवाटारस्थित हालको प्रधामन्त्री निवास परिसरभित्रै नयाँ भवन निर्माण गर्न लागिएको हो । हालको सरकारी निवास भूकम्पले क्षति र्पुयाएको भन्दै ४० करोड रुपैयाँ (भ्याटबाहेक) को लागतमा नयाँ भवन बनाउन लागिएको हो । २ वर्ष भित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

यस्तो बन्दैछ प्रधानमन्त्रीको नयाँ सरकारी निवास 

प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बन्ने छन् । जहाँ साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोगमा ल्याईने छ । निजी भवन बनाइसकेपछि मात्रै सार्वजनिक भवन बनाउन थालिने छ ।

आकर्षक निजी भवन
प्रधानमन्त्रीले मात्रै प्रयोग गर्ने भएकाले यो भवनलाई निजी भवन भनिएको हो । यो भवन करिब एक रोपनी क्षेत्रफलमा फैलिने छ । यसको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछन् । जहाँ पाहुना रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षा कोठालगायतका संरचना हुने छन्  ।

भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तलामा प्रधानमन्त्री सुत्ने कोठा, पढ्ने कोठा, पूजा कोठा र खाना खाने कोठा हुनेछन् । दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि छुट्याइने छ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ ।

परम्परागत झल्को दिने शानदार सार्वजनिक भवन

सरकारका अनुसार सार्वजनिक भवन तीन तलाको हुने छ । यो भवनको परिसर करिब दुई रोपनी हुने छ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुने छ । चोकमा नेपालको संस्कृति झल्कने कला र मुख्य धरोहरको नमूनासमेत निर्माण गरिनेछ । भुइँतलामा अति विशिष्ट व्यक्तित्वसँगको भेटघाट कक्ष र आपतकालीन समयमा मन्त्रिषरिषद बैठक बस्नका लागि क्याबिनेट हल पनि बनाइने छ । प्रधानमन्त्रीसँग मन्त्रीहरूसँगको भेटघाट पनि यहीँ हुनेछ ।

४० जना क्षमताको डाइनिङ हल, भान्सा कोठा र सञ्चार कक्ष पनि हुने छ । सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष पनि भुइँ तलामै हुनेछ । पहिलो तलामा सार्वसाधारणसँग भेटघाट गर्ने र भोजभतेर गर्ने लगायतका कोठा हुने छन् । पहिलो तलामै प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार राख्ने ठाउँ पनि हुने छ । यो तलामा दुईवटा प्रतीक्षा कक्ष र एउटा होल्डिङ हल हुनेछ । होल्डिङ हलमा प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कोठासम्म जाने आगन्तुकलाई केहीबेर पर्खाइने छ ।

प्रधानमन्त्रीको पीएको कोठा, सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने कोठा पनि पहिलो तलामै हुनेछन् । भवनको तेस्रो तलामा प्रधानमन्त्री कार्यालय कक्ष, पुस्तकालय, स्टुडियो, लबीलगायत संरचना हुनेछन् ।

प्रतिक्रिया