शुक्रबार, वैशाख १४, २०८१

जाडोमा दम रोगबाट यसरी बच्न सिकन्छ ?

नेपालखोज २०७६ पुष ५ गते ७:००

जाडो बढेसँगै दमखोकी अर्थात् सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज)का बिरामीलाई श्वासप्रश्वासमा समस्या देखिन थाल्छ । यतिखेर दम रोगीले फोक्सोबाट पर्याप्त अक्सिजन छान्न सक्दैन । फोक्सोले शरीरलाई आवश्यक ९० प्रतिशत अक्सिजन प्रशोचन गर्न नसकेपछि कृत्रिम तवरले अक्सिजन लिनुपर्ने हुन्छ ।

श्वासनली तथा फोक्सोका कोषहरू नष्ट भएर श्वासप्रश्वास प्रणालीको कार्यक्षमता घट्न गई श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न भएर सास फेर्न अति कठिन हुने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. नीरज बमले बताए ।

सीओपीडी कसरी हुन्छ ?
फोक्सोमा दुईवटा ठूला श्वासनली हुन्छन् । फोक्सोमा पुगिसकेपछि तिनीहरू ससाना नलीमा विभक्त भएका हुन्छन् । हामीले श्वास फेर्दा श्वाससँगै जाने धुलोधुवाँका कण ससाना नलीका भित्तामा टाँसिन्छन् । यो बढ्दै गएपछि ससाना नलीका भित्तामा क्रोनिक इन्फ्लामेसन हुन्छ ।

श्वासनलीका भित्ता सुन्निएर नली साँघुरिन थाल्छ । साँघुरो भएपछि श्वास फेर्न गाह्रो हुँदै जान्छ । श्वासनलीमा बारम्बार संक्रमण भएपछि श्वासनलीमा समस्या हुन्छ । त्यही बेला उत्पादन हुने विभिन्न खालका हर्मोनले थप जटिलता ल्याउन थाल्छ । र छातीमा घ्यारघ्यार आउन थाल्छ ।

यसबाट बच्ने उपायहरुः
१. धूमपान अर्थात् चुरोट सेवन गर्दै नगन ।
२. धुवाँधुलोमा नबस्ने ।
३.दाउरा–गुइँठा बाल्ने घरमा धुवाँ जाने भेन्टिलेसन बनाउने र धुवाँरहित चुलो निर्माण गर्ने ।
४.बाहिर धुलोमा हिँड्दा क्लिनिकल मास्क प्रयोग गर्ने ।
५. घर वरिपरि रुख–बिरुवा रोप्ने, हरियाली कायम गर्ने ।
६. सरकारलाई धुवाँ निस्कने र प्रदूषण गर्ने उद्योग बस्तीभन्दा पर राख्न लगाउन पहल गर्नुपर्छ ।
७. लगातार खोकी लाग्यो, छाती घ्यारघ्यार भयो, श्वास फुलेजस्तो भयो भने तत्काल चिकित्सकको परामर्शमा उपचार थाल्नुपर्छ ।

प्रतिक्रिया