बिहीबार, वैशाख १३, २०८१

शैक्षिक सुधार गर्न आवासीय पढाइ

नेपालखोज २०७६ फागुन ३० गते १४:३७

दैलेख । दुल्लू नगरपालिका–२ नाउले कटुवालमा रहेको भानेश्वर माध्यमिक विद्यालयमा अहिले शैक्षिक अवस्था सुधार गर्न सरकारी विद्यालयलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिएको छ । शिक्षा क्षेत्रमा देखिएको समस्याको दिगो रूपमा समाधान गर्ने उद्देश्यले जिल्लाका दुर्गमबस्तीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर आवासीय विद्यालयको शुरुवात गरिएको हो ।

इच्छाशक्ति भएपछि काम गर्न सकिन्छ भन्ने उदाहरणस्वरूप विद्यालय व्यवस्थापन समितिले यस्तो अभियान थालेपछि अहिले अभिभावकसमेत खुशी बनेका छन् । गतवर्षसम्मको एसइई परीक्षामा एकजना पनि उर्तीण हुननसकेको यो वर्ष कम्तीमा ५० प्रतिशत विद्यार्थीलाई राम्रो अङ्क ल्याएर उर्तीण गराउने योजना विद्यालयले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतेन्द्र थापाको भनाइ छ । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको दुई महिनामै विद्यालयको शैक्षिक सुधारलगायतका काममा लागेको उनी बताउँछन् ।

सो विद्यालयमा अहिले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई आवासीय रूपमा विद्यालयमै राखेर पठनपाठन शुरु गरिएको विद्यालयका प्राचार्य ललितप्रसाद पोखरेलले जानकारी दिए। सरकारी विद्यालय भए पनि कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यामबाट पढाइ सञ्चालन गरिएको पोखरेलले बताए । वडाले नमूना विद्यालय बनाउने अभियान शुरु गरेको र यसलाई प्रदेश तथा सङघ सरकारले पनि सहयोग गर्नुपर्ने वडा नं–२ का वडाध्यक्ष लछिराम थापाको भनाइ छ ।

गाउँमै आवासीय विद्यालय सञ्चालन गरेर बालबालिका पढ्न पाएको भन्दै अभिभावहरुलेसमेत खुशी व्यक्त गरेका छन् । आवासीय विद्यालय सञ्चालनका लागि विद्यालयमा कुनै स्रोत नभए पनि अभिभावकको स्रोतबाट सञ्चालन गरिएको छ । विद्यालय प्रअ बस्ने कोठालाई आवासीय बनाएर पठनपाठनलाई प्रभावकारी बनाउन अभियान थालिएको हो । अहिले छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीलाई बिहान बेलुकाको खाना निकै सस्तोमा व्यवस्थापन गरिएको छ । भवन, शौचालयको अभाव हुँदाहुँदै पनि अभियान थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतेन्द्र थापाले बताउनुभयो । विद्यार्थीलाई व्यावसायिक, सीपमूलक र नैतिक शिक्षाकाबारेमा पनि पढाइ हुने जानकारी गराइएको छ । नयाँ शैक्षिक सत्रबाट कानून र व्यवस्थापन विषयको पढाइ सञ्चालन गर्ने, कक्षा ९ बाट कम्प्युटर शिक्षाको तयारीमा विद्यालय छ ।

प्रतिक्रिया