महासंघमा राजनीतिक हस्तक्षेप बढ्यो (भिडियोसहित)
काठमाडौं । नेपाल पत्रकार महासंघमा राजनीतिक हस्तक्षेप बढेको पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बताएका छन् । उनले राजनीतिक दल र महासंघबीचको दूरी घटेको समेत बताए ।
महासंघको २६औं महाधिवेशनको पूर्वसन्ध्यामा महासंघमा राजनीतिक दलको हस्तक्षेप बढेको बताउँदै उनले भने, ‘हाम्रो कार्यकाल र त्यसभन्दा पहिले पत्रकारहरू महासंघमा हुँदा राजनीतीक पार्टीप्रति सहानुभुति राख्ने, पार्टीलाई सहयोग गरे पनि महासंघको छातामुनि आएपछि पत्रकार नै बन्ने परिपाटी थियो ।’ पहिले पत्रकारिता, पत्रकारको हक-हित र अधिकारमा केन्द्रित रहने महासंघ अहिले पार्टीमुखी भएको निष्ठुरीको बुझाइ छ ।
यद्यपि राजनीतिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता, प्रेस अभिवृद्धि स्वतन्त्रताको पहरेदार महासंघ भएकै कारण पनि राजनीतिक दलहरुसँग अलिअलि नजिक हुने उनको बुझाइ छ । ‘पहिलेको महासंघ राजनीति दूरीमा थियो,’ नेपालखोजसँगको विशेष कुराकानीमा निष्ठुरीले भने, ‘अहिले त्यो पाइँदैन ।’
उनले पार्टीहरूको वैचारिक संगठन भएजस्तै पत्रकारहरूको पनि संगठन बनेको प्रस्ट्याए । उनले भने, ‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसनिकट छ । कांग्रेसले यसलाई आफ्नो सन्तति ठान्छ । प्रेस चौतारी एमालेको भ्रातृ संगठन हो । माओवादी केन्द्र, दलित, महिला, जनजातिलगायत खोजमूलक समाचारभन्दा पनि पार्टी र समुदायको संरक्षण लिएर महासंघको नेतृत्वमा पुग्ने लक्ष्य लिएर हिँड्छन् ।’ महासंघमा राजनीति पार्टीको बढ्दो हस्तक्षेप र पार्टीहरू अग्रसर बनाउने विकृतिको जिम्मेवार पनि पत्रकार स्वयं नै रहेको उनी बताउँछन् ।
तस्बिर-भिडियो : संगम ढकाल/तिलक कार्की
प्रतिक्रिया