बुधबार, वैशाख १९, २०८१

‘छाडा गाईगाेरुका पेटमा प्लास्टिक र कपडामात्रै हुन्छ’ (भिडियो रिपोर्ट)

काठमाडौं । उत्तम पुडासैनी अभियन्ता हुन् । पहिले वाग्मती सफाइमा बढी सक्रिय थिए भने पछि सडकमा रहेका छाडा गाईगोरु संरक्षणमा जुटेका छन् । काठमाडौंकै रैथाने पुडासैनीले कागेश्वरी मनोहरामा पशुपति क्षेत्रकै खाली जमिनमा सडकमा भेटिएका छाडा गाईगोरुलाई संरक्षण दिएर पालिरहेका छन् । सुरुमा २/४ जना साथी मिलेर गाईगोरुलाई पानी दिएर सुरु गरिएको यो अभियान अहिले विस्तृत भएको छ । अभियानमा उनलाई साथीभाइका साथै अन्य केही संघ-संस्थाहरुले समेत सहयोग गरिरहेका छन् ।

उनै छाडा गाईगोरु संरक्षण अभियन्ता पुडासैनीसँग नेपालखोजले भेटेर कुराकानी गरेको छ । उनैसँगको कुराकानीमा आधारित भिडियो रिपोर्ट हामीले तयार गरेका छौं ।

छाडा गाईगोरु संरक्षण अभियन्ता उत्तम पुडासैनीसँग भएका कुराकानीका हाइलाइट्स :

– मानिसहरुले सडकमा छोडेको केही दिनैमै हामीले उद्धार गर्न सक्यौं भने ती गाईहरुलाई बचाउन सक्छौं ।
– सडकमा छाडेको केही समय, एक साता वा सोभन्दा बढी भएको रहेछ भने ती गाईलाई उद्धार गरेर बचाउन गाह्रो हुन्छ । किनभने तिनीहरुले भोक मेटाउन अखाद्यवस्तु खाएका हुन्छन् । खासगरी प्लास्टिक खाएका गाईहरुलाई बचाउन असम्भव नै हो ।
– उद्धार गरेर ल्याएका केही गाईरुहरु हामीले बचाउन सकेनौं । मरेका गाईका पेटबाट १५/२० केजीसम्म प्लास्टिक झिकेका छौं ।
– गाईहरु बूढा भएपछि सन्तान उत्पादन गर्न सक्दैनन् अनि कृषकले सडकमा छाडा छाडिदिन्छन् । त्यस्ता गाई पनि हामीले उद्धार गरेका छौं । उठ्नै नसक्ने अवस्थामा पुगेका गाई पनि हामीले उद्धार गरेर ल्याएका थियौं । तिनीहरु अहिले स्वस्थ छन् ।
– पाठेघरमा घाउ भएर सन्तान उत्पादन गर्न नसक्ने भएपछि कृषकले सडका छाडेका गाई पनि हामीले उद्धार गरेका छौं ।
– बहरहरु लाई पनि हामीले सडक तथा खोला किनारबाट उद्धार गरेर ल्याएका छौं । जन्मनेबित्तिकै कृषकहरुले बहरलाई छाडिदिन्छन् । कुनै बहरहरु त खानसमेत नजान्ने हुन्छन् ।
– वाग्मती सफाइ अभियानका क्रममा हामीले धेरै असहाय बाच्छा-बाच्छी मरेको फेला पार्‍यौं । तिनीहरुको ह्याकुलो र चारवटा फिला हुँदैन थियो । यसको अर्थ गाई मासुको रुपमा प्रयोग भएको हाम्रो अनुमान रह्यो । मासु भएको अंग लैजाने काम नभएको भाग पेट भने फ्याँकिदिने । सोही कारण एयरपोर्टको उत्तरतिरको मैदानबाट केही साथीहरु मिलेर ३/४ वटा बाच्छाबाच्छीलाई पानी खुवाएर यो कामको सुरुवात भएको हो ।
– कुनै समय हामीसँग २५० वटासम्म गाई-गोरु थिए । अहिले हामीसँग १५० भन्दा बढी छन् । केही गाईहरुले अखाद्य वस्तु खाएका कारण मर्दा रहेछन् ।
– कोही कृषकहरु हाम्रो बहर राख्दिनू भनेर पनि यहाँ आउनुहुन्छ तर हामी त्यो स्वीकार गर्दैनौं ।
– हामीले सडकबाट साना दूध पनि खान नसक्ने अथवा नजान्ने, सडक दुर्घटनामा परेर घाइते भएका, जीर्ण भएका गाई-गोरु उद्धार गर्दै आएका छौं ।
– कुनै गाई-गोरु सडकमा छाडेपछि कराउँदा-कराउँदै केही नखाई मर्छन् । कुनै साना आकारका हुन्छन् खान नपाएरै मर्छन् । कुनै हिंस्रक कुकुरको टोकाइबाट मरेका छन् । कुकुरको टोकाइबाट मर्नेको संख्या पनि धेरै छ । सडक दुर्घटनाका कारण पनि दिनहुँजस्तो गाईहरु मरिरहेका हुन्छन् । कुनै अखाद्य वस्तु खाएर मर्छन् ।
– अहिले सडकमा गाईवस्तुहरु कम छन् । आज देखिएका भोलि हुँदैनन् । उनीहरु मासुमा प्रयोग भएका छन् यसका लागि गिरोह नै सक्रिय छ ।

थप भिडियाेमा हेर्नुहाेस्

प्रतिक्रिया