‘जलवायु परिवर्तनले ल्याउने विपत्तबारे सजग होऔं’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनसम्बन्धी प्रभावबारे अनुसन्धानलाई केन्द्रित गर्नुपर्ने बताएकी छिन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले वातावरणीय एवं जलवायु परिवर्तनका कारणको तथ्य पहिल्याएर समाधानको उपायसमेत खोजिनुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालयअन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताइन् ।
मन्त्री भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा जोडदिँदै कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने बताइन् । उनले आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिइन् ।
यस्तै, ऊर्जा सचिव देवेन्द्र कार्कीले आफ्नो कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले केन्द्रले गरेका अनुसन्धानका क्षेत्र र सोसँग सम्बन्धित जटिलताबारे जानकारी गराएका थिए । – रासस

प्रतिक्रिया