तमु ल्होसार : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीबाट शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।
उनले तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन् । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार/ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आज तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।
“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।”
प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया