‘समयभित्रै केन्द्रीय महाधिवेशन गर्ने गरी क्रियाशील सदस्यता वितरण टुंगो लगाउँछौं’

काठमाडौं । नेपाली कांग्रेसले पुर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ । नेपाली कांग्रेसको पार्टीभित्रकोे आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भईसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए ।
आईतबार बसेको पार्टीको पदाधिकारी र पुर्व पदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उनले जानकारी दिए । पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पुर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए ।
बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नविकरण र नया इन्ट्री पनि भईसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए । पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बद्रियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामोसमयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन् ।
ती सबै जिल्लामा अहिले क्रियाशिल सदस्यता वितरणको काम भईरहेको नेता लेखकले जानकारी दिए । नेता लेखकले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए ।
नेता लेखकले भने “झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्रि भईसकेको छ । अधिकांश स्थानको सदस्यता वेभसाईटमा सार्वजनिक भईसकेको छ । प्राप्त उजुरी र गुनासामाथि छलफल भईरहेको छ । केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पुर्व पदाधिकारीसंग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भईरहेको छ । नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडा देखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरि क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौ । त्यो हामी सम्पन्न गर्छौ भन्ने म विश्वास दिलाउन चाहन्छु । ”
नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन् । ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उनले बताए । क्रियाशिल सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पुर्वसन्धयामा क्रियाशिल सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए ।
प्रतिक्रिया