काठमाडौंमा निषेधाज्ञा एक साता लम्बियो, जोर-बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिएको छ ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज सकिने निषेधाज्ञा थप खुकुलो गर्दै लम्बाउने निर्णय गरेको हो ।
कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
‘जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ तर माइक्रोबस भने चल्ने छैनन् ।’ उनले भने, ‘२५ सिट माथिका मात्रै चल्न पाउने छन् ।’ उनकाअनुसार सवारीसाधनको सिट क्षमता आधारमा यात्रु राख्न पाइने छ ।
यसैगरी दउपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । नयाँ निर्णयअनुसार भोलि (मंगलबार)देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ ।
तीन वटै जिल्लाका प्रमुख अधिकारीहरु आइतबार निषेधाज्ञाकै विषयमा एक चरण छलफल गरेका थिए । यसअघि सरकारले ८ गतेबाट निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्न दिएको थियो ।
प्रतिक्रिया