बुधबार, जेठ १, २०८२

केपी ओलीले भने- कांग्रेस प्रचण्डपथमा हिँड्यो

नेपालखोज २०७८ असार १४ गते १५:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन् । दिवंगत नेता मदन भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजत कार्यक्रममा उनले नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेको बताएका हुन् ।

उनले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोज्ने र फेला नपरे नाथुराम गोड्से आफैं हुने तहमा पुगेको दाबी गरे । कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायलयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

माधवकुमार नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर
प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पुच्छर भएको टिप्पणीसमेत गरे ।

नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे । कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैं आफ्नो महत्त्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

नेता नेपालले कम्युनिस्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गरे ।

प्रचण्ड छेपारो जस्तो, ‘नीलवर्ण संघार’ कथाको पात्र
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीतिभन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे ।

उनले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए ।

अध्यक्ष दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘नीलवर्ण संघार’ कथाको पात्रजस्तो चरित्रको भएको दाबी गरे । प्रचण्डको काम नै देशलाई बर्रबाद गर्ने भएको भन्दै उनले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिकोमूल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताए ।

राष्ट्रिय जनमोर्चाको स्वार्थनीति
प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

उनले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भए पनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गरे । उनले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गरे ।

प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गरे । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उनले सुझाए ।

भण्डारीको योगदानको चर्चा
विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच, विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे ।

जननेता भण्डारी शताब्दी नायक रहेको पनि उनले उल्लेख गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको पनि प्रधानमन्त्री ओलीले चर्चा गरे ।

उनले मदन भण्डारीको स्कुलिङ अहिलेको जस्तो झुट र बेइमानीको नभई सत्य र निष्ठाको रहेको बताए । उनले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया