बुधबार, जेठ १, २०८२

सरकारको विरोध गर्ने थलो बन्यो राष्ट्रियसभा, आज कसले के भने ?

नेपालखोज २०७८ असार २७ गते १७:०८

काठमाडौं । राष्ट्रिय सभाको बैठक वर्तमान सरकारको काम कारबाहीको विरोधस्थलमा परिणत हुन थालेको छ । असार १७ गतेबाटल सुरु भएको राष्ट्रिय सभाको पहिलो बैठकदेखि आजको बैठकसम्म आउँदा अधिकांश राष्ट्रियसभा सदस्यले सरकारको विरोधमा समय खर्च गर्न थालेका छन् ।

सरकारले राष्ट्रिय सभामा ठोस विजनेश दिन नसक्दा सभामा विशेष समयको समयावधि बढिरहेको छ । राष्ट्रियसभा स्वयम्ले पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्तावजस्ता रचनात्मक विषयमा छलफल गराउन सक्दथ्यो त्यो हुन सकेको छैन् । आजको बैठकमा १३ जना सांसदलाई ९३ मिनेट समय दिइएको थियो ।

९३ मिनेट समयमा ४८ मिनेट समय त सरकारको विरोधमा खर्च भएको छ । बाँकी ४५ मिनेटको समयमा धेरै समय पाउने नेकपा एमालेका सांसद वामदेव गौतमले पाएको १५ मिनेटको समय हटाउने हो भने सरकारको पक्षमा केवल ३० मिनेट समय रहेको छ । सांसद वामदेव गौतमले पनि सिधा सरकारको विरोध नगरे पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरे । यसरी राष्ट्रिय सभा विस्तारै विपक्षी दलहरुको पक्षमा बन्दै गएको देखिन्छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लै हिड्ने र संविधानलाई च्यात्ने काम गरेको बताए । उनले प्रधानमन्त्री ओलीले राजनीतिक प्रणालीलाई नै समाप्त पार्न लाग्नु विडम्वनापूर्ण भएको बताए ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्या गरेर भ्रमपूर्ण र चेतावनीयुक्त शैलीमा अदालतलाई दबाव दिने कोसिस गरेको बताइन् । उनले राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न मिल्दैन भन्ने भनाइ बालुवाटार र शितल निवासबाट निरन्तर सार्वजनिक भइरहनु खेदजनक रहेको पनि बताइन् ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य नयनकला ओझाले विपक्षी दलहरुले सत्ता प्राप्तिका लागि जस्तोसुकै अप्रजातान्त्रिक हर्कतहरु पनि गरिरहेको बताइन् । यस्तो गतिविधिले पार्टी पद्धती, लोकतान्त्रिक परिपाटीलाई बदनामी गर्ने उनको भनाई छ । आवधिक निर्वाचनको बाटोमा जानु नै सबैको हितमा रहेको उनले बताइन् ।

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अशान्तिमा लगेको आरोप लगाइन् । देशको सुशासन र समृद्धिको सम्बन्धमा थुप्रै प्रश्न खडा भएको पनि उनले बताइन् ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले कम्युनिष्टबाट जनताले कसरी मुक्ति पाउँछन् भन्ने प्रश्न खडा भएको बताए । कम्युनिष्टहरुको नाटक र नौटंकीले मुलुक बन्धक बनेको उनको टिप्पणी छ ।

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय सभाको अधिवेशन राजनीतिक आरोप प्रत्यारोपमा केन्द्रीत भएको बताइन् । आलोचनाको नाममा सरकारले गरेका राम्रो कामहरुको समेत नकारात्मक र भ्रामक तरीकाले राष्ट्रिय सभामा प्रस्तुत गरिएको उनले बताइन् । राष्ट्रपतिमाथि हुने गरेका टिका टिप्पणी पनि सकारात्मक नभएको उनले बताइन् ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य बिना पोखरेलले संविधान च्यातेर स्वेच्छाचारी र मनोमानि ढंगले कदम चालिएको बताइन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिको संस्था विघटन गरी जनादेशको कुरा गरिएको उनले बताइन् । पोखरेलले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक उपलब्धीमाथि प्रश्न उठाउन सुरु गरिएको पनि बताइन् ।

प्रतिक्रिया