निगमले भन्यो- निजीकरणबारे छलफल भएकै छैन

काठमाडौं । नेपाल वायुसेवा निगमले रणनीतिक सुधारका लागि भइरहेका आफ्ना कार्यहरुको सम्बन्धमा भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार निगमका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा कुनै पनि छलफलसमेत नभएको जनाएको छ ।
यस अघि नेपाल वायुसेवा निगम निजीकरण गरिन लागेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए । उनिहरुले निजीकरणको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
त्यस्तै, आइतबार मात्रै पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाल वायुसेवा निगम निजीकरणका नाममा सरकारले आफ्ना आसेपासेलाई पोस्न लागेको आरोप लगाएका थिए ।
उनले विज्ञप्ति जारी गरी सरकारको उक्त कदम निजीकरण ऐनविपरीत रहेको र संसदीय समितिहरूमा समेत छलफल नगरिएको भन्दै आपत्ति जनाएका थिए । यत्तिकैमा आज निगमले विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्नेबारे कुनै छलफल नै नभएको बताएको छ ।

प्रतिक्रिया