‘विद्युतीय चुल्हो र बस सञ्चालनका लागि प्रोत्साहन गर्न सरकार तयार छ’

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए ।
उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए ।
उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताए ।
निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरे । मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताए । विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ । तस्बिर रासस
प्रतिक्रिया