आगामी टी-२० विश्वकपको तालिका सार्वजनिक

काठमाडौं । अस्ट्रेलियाका रूपमा नयाँ विजेता छनोट गर्दै टी-२० वर्ल्डकप क्रिकेट-२०२१ गत आइतबार मात्र सम्पन्न भएको हो । यद्यपि इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी वर्ष अर्थात् २०२२ मा हुने टी-२० वर्ल्ड कप क्रिकेटको सेड्युल पनि जारी गरेको छ । २०२२ को वर्ल्ड कप टी-२० को आतिथ्यता अस्ट्रेलियाले गर्दै छ भने फाइनल खेल मेलबर्नमा हुने तय भएको छ । उक्त प्रतिस्पर्धा १६ अक्टोबरमा सुरु भएर फाइनल १३ नोभेम्बरमा हुनेछ । अस्ट्रेलिया साबिक विजेताका रुपमा उपाधि जोगाउने प्रयासमा रहने यो प्रतियोगितामा ४५ खेल हुनेछन् ।
ती प्रतियोगिता एडिलेड, ब्रिस्बेन, जिलान्ग, होबार्ट, मेलबर्न, पर्थ तथा सिड्नीमा खेलाइनेछन् । २०२२ को टी-२० क्रिकेट फाइनल १३ नोमेम्बरका दिन मेलबर्न क्रिकेट मैदानको दुधिलो कृत्रिम उज्यालोमा खेलिनेछ । सेमिफाइनल क्रमशः ९ र १० नोभेम्बरका दिन सिड्नी क्रिकेट मैदान र एडिलेड ओवलमा आयोजित हुनेछ ।
टी-२० विश्वकप २०२२ मा वर्तमान विजेता अस्ट्रेलिया तथा उपविजेता न्युजिल्यान्डसहित अफगानिस्तान, बंगलादेश, बेलायत, भारत, पाकिस्तान तथा दक्षिण अफ्रिका सर्वोच्च र्यांकिङका आधारमा सीधै सुपर १२ चरणमा प्रवेश गर्नेछन् ।
नामिबिया, स्कटल्यान्ड, श्रीलंका तथा वेस्ट इन्डिजले पहिलो चरणको पनि सामना गर्नुपर्नेछ जसमा चार नयाँ छानिएर आएका देश हुनेछन् । ती चार टिमको छनोट यात्रामा नेपाल बलियो सम्भावना भएको देशका रुपमा सहभागी हुँदै मात्र आएको छैन बंगलादेशमा भएको टी-२० विश्वकपको पहिलो चरणमा सहभागीसमेत भइसकेको छ ।
प्रतिक्रिया