मंगलबार, मंसिर २३, २०८२

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

नेपालखोज २०८२ असार २३ गते २१:२४

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार दरहरू पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार सोमबार ओरालो लागेको छ ।

जापानको मुख्य सेयर सूचकांक सोमबार दुई सय २३ दशमलव २० अङ्कले घटेर ३९ हजार पाँच सय ८७ दशमलव ६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब ०.५६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, अर्को महत्त्वपूर्ण सूचक ‘टोपिक्स’ पनि १६ दशमलव २३ अंकले घटेर दुई हजार आठ सय ११ दशमलव ७२ मा पुगेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो ।

बजारमा लगानीकर्ताहरूले सक्रिय रूपमा कारोबार गर्न नचाहेको देखिएको छ, किनभने ट्रम्पले पठाउने भनिएको भन्सार दरको पत्र जापानलाई पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनिश्चितता रहेको छ । अहिले चलिरहेको आपसी भन्सार सहमतिको अवधि जुलाई ९ मा सकिँदैछ, जसले थप अन्योलता सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार झन्डै १२ देशलाई पठाइने पत्रहरूमा अमेरिका आयात हुने वस्तुहरूमा लाग्ने नयाँ भन्सार दर उल्लेख गरिएको जानकारी दिएका थिए । -रासस/सिन्ह्वा

प्रतिक्रिया