मंगलबार, मंसिर २३, २०८२

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान

नेपालखोज २०८२ मंसिर ११ गते १०:१९

काठमाडौं । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको एसोसिएट क्लाईन्टका रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित भिजा लिडससिप कन्क्लेभकार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो ।

बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा एक्सीलेन्स इन कन्जुमर क्रेडिट कार्ड, एक्सीलेन्स इन प्रिपेड कार्ड र एक्सीलेन्स इन पोस एक्विरिङ अवार्ड प्रदान गरिएको हो ।

ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएससेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।

आषाढ २०८२ मसान्तसम्म बैंकहरूले कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, आषाढ २०८२ मसान्तसम्मको कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, आषाढ २०८२ मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार कार्ड रहेको छ । साथै, आषाढ २०८२ मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पोस कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको यस सम्मानले बैंकको सेवा गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप सुदृढ बनाएको छ । सिद्धार्थ बैंक भविष्यमा पनि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यवसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया