शुक्रबार, वैशाख ७, २०८१

अल्लाहको प्रार्थनासँगै बकर इद ! (भिडियो रिपोर्ट)

काठमाडौं । इस्लाम धर्मावलम्बीको महान् चाड बकरइद (इद उल अजहा) बुधबार देशभर मनाइएको छ ।

रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरुको रमजानपछिको दोस्रो ठूलो पर्व हो । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । कोरोना संक्रमणको जोखिमको कारण धार्मिकस्थलको पूजा आराधना, प्रार्थनामा लगाइएको बन्देज न खोलिएको कारण धेरै इस्लाम धर्मावलम्बीहरुले मस्जिदमा गएर नमाज (प्रार्थना) पढ्न पाएका छैनन् ।

काठमाडौंको जामे मस्जिदमा नित्य प्रार्थना गर्नेहरु र मस्जिद वरिपरिका इस्लाम धर्मावलम्बीले सामूहिक नमाज पढेका छन् । मास्क लगाएर भौतिक दूरीको पालना गरेर नमाज (प्रार्थना) गरेका छन् । यस पर्वमा आर्थिक रुपमा सबल मानिसहरुले दान गर्नुपर्ने अल्लाहको आदेश भएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिनले बताए । यो पर्वमा आफ्ना ईश्वर अल्लाहलाई खुसी बनाउन इस्लामधर्मावलम्बीहरुले आफ्नो धर्मले भनेअनुसारका पशुको बली चढाउने र दान दिने गर्छन् । पशुबलि दिनु र बाँडेर खानु,आफूले सकेको दान दिनु मानव धर्मका लागि केही न केही गर्नु यो पर्वको विशेषता रहेको अध्यक्ष अब्दुल समिनले बताए ।

उनले भने, ‘सबैसँग बाँडेर खानु नै मानवता हो,’ अध्यक्ष समिनले भने, ‘कुर्बानीको मासुलाई तीन भाग लगाएर गरिब दुःखीलाई बाँड्ने र खाने गरिन्छ, यसले मानवता झल्काउँछ, यसरी दान गर्दा आफ्ना पितृ, सन्तान र आफूलाई नै पुण्य मिल्छ ।’

अध्यक्ष अब्दुल समिनले कोरोनाका कारण यो बकर इदको नमाजमा बाहिरी मानिसलाई प्रवेश नदिइएको र सामाजिक दूरी कायम गर्दै मनाइएको बताए । कोरोना समयअघि दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी तकिया मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गर्थ्यो भने यस वर्ष कोरोना संक्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षित रुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

इद उल अजहा पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान खुलेका छैनन् । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् ।

प्रतिक्रिया