सोमबार, वैशाख १७, २०८१

सिटामोल खानुअघि विचार पुर्‍याउँ !

नेपालखोज २०७८ माघ २९ गते १८:५९

काठमाडौं । कोरोना महामारीका क्रममा अहिले प्यारासिटामोलको प्रयोग उत्कर्षमा छ । यद्यपि एउटा ताजा अनुसन्धानले के देखाएको छ भने यसको बढी प्रयोगले ज्यान जोखिममा पार्न सक्छ । यसको दैनिक प्रयोगले ब्लडप्रेसर, हृदयाघात तथा स्ट्रोकको सम्भावना हुन्छ ।

चिकित्सकको सल्लाह आवश्यक
अनुसन्धानमा संलग्न विज्ञहरुको चेतावनी छ- हर्ट अट्याक तथा स्ट्रोकको जोखिम भएका मानसहरुले प्यारासिटामोल खानुअघि चिकित्सकको सल्लाह लिनु अनिवार्य छ ।

यो अनुसन्धान एडिनबर्ग युनिभर्सिटीका विशेषज्ञहरुले हाई ब्लड प्रेसर भएका रोगीहरुमा गरेका थिए जसमा ११० जना हाई ब्लड प्रेसरका रोगी सामेल भएको बताइएको छ । ती मानिसलाई दुई सातासम्म प्यारासिटामोलको गोली दिनको चारपटक दिइएको थियो । चार दिनपछि जब पहिलोपटक तिनको जाँच गरियो तब उनीहरुको ब्लड प्रेसर निकै बढेको पाइयो । ब्लड प्रेसर हाई भएका कारण ती मानिसमा हृदयाघातको सम्भावना २० प्रतिशतसम्म बढेको थियो ।

ब्रिटेनमा प्यारासिटोमोलको खपत बढी
यो अनुसन्धान ब्रिटेनमा गरिएको थियो । भनिन्छ ब्रिटेनमा १० मध्ये एक व्यक्तिले पीडा निवारणका लागि दैनिक प्यारासिटामोल सेवन गर्छन् भने ब्रिटेनमा लगभग तीन वयस्कमध्ये एक हाई ब्लड प्रेसरले पीडित भएको बताइन्छ ।

एडिनबर्ग युनिभर्सिटीका प्रोफेसर डेभिड वेबका अनुसार अहिलेसम्म प्यारासिटामोललाई एउटा सुरक्षित औषधि मानिँदै आएको छ । यद्यपि हामि यो अनुसन्धानपछि के भन्छौं भने हर्ट अट्याक‍ जोखिम भएका रोगीहरुले प्यारासिटामोलबाट टाँढै रहनुपर्छ । उनले चिकित्सकहरुसँग आग्रहसमेत गरेका छन्- प्यारासिटामोलको त्यति नै सिफारिस गर्नुहोस् जति आवश्यक छ ।

प्यारासिटामोलको प्रयोग गलत मात्र होइन
एनएचएस लोथियनमा क्लिनिकल फार्माकोल‍जी तथा नेफ्रोलोजीका सल्लाहकार एवं प्रमुख जाँचकर्ता डा. इयान म्याकइन्टायर भन्छन्, ‘टाउको दुख्नु वा ज्वरोमा कहिलेकाहीँ प्यारासिटामोल प्रयोग गर्नु गलत होइन तर पीडा निवारणका लागि लामो समयसम्म यसको नियमित सेवन गरे बढी जोखिम हुन्छ ।’

अनुसन्धानका क्रममा जब बिरामीलाई प्यारासिटामोल दिन बन्द गरियो त्यसपछि उनीहरुको ब्लड प्रेसर नर्मल भयो । अनुसन्धान प्रतिवेदनअनुसार डाक्टरहरुले नियमित रूपमा प्यारासिटामोल खाने बिरामीहरुलाई यसको जोखिमबारे जानकारी दिनु पनि आवश्यक छ ।

प्रतिक्रिया