‘सम्बन्ध होइन, पत्रकारको अधिकारबारे बोल्ने नेतृत्व चाहियो’ (भिडियोसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारको अधिकारका बारेमा आवाज बुलन्द पार्ने सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

महासंघको २६औं महाधिवेशनको पूर्वसन्ध्यामा दाहालले महासंघको एजेन्डा बुझ्ने मानिस र प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने व्यक्तिलाई नेतृत्वमा पठाउनसमेत आग्रह गरेका छन् ।

‘पत्रकार महासंघको कोर एजेन्डा बुझ्ने मानिस चाहिन्छ । प्रेस स्वतन्त्रताका लागि प्रखर रूपले बोल्न सक्ने, अभिव्यक्ति स्वतन्त्रताका लागि प्रखर रुपमा बोल्न सक्ने नेतृत्व चाहिन्छ,’ नेपालखोजसँग विशेष कुराकानी गर्दै उनले भने, ‘वैचारिक कारण अथवा मिडियाको सम्बन्ध नहेरी श्रमजीवी पत्रकारको अधिकारबारे आवाज उठाउने, मिडियाको विकासका लागि सरकारलाई सल्लाह दिनसक्ने, दबाब दिन सक्ने र सरकारको नराम्रो कदममा विरोध गर्न सक्ने हिम्मत भएको नेतृत्व आवश्यक छ ।’

उनले पत्रकारको प्रतिनिधिमूलक संस्था बनेको महासंघले सबै माध्ययमा काम गर्ने सिर्जनशील पत्रकारको हकहित, अधिकार, सुनिश्चित भविष्य र सुरक्षाको मुद्दामा केन्द्रित हुनुपर्नेसमेत सुझाए । ‘महासंघले प्रेस स्वतन्त्रता कसरी सुरक्षित गर्ने, कसरी सुरक्षित पत्रकारिता गर्न पाउने, पत्रकारको वृत्तिविकास, सामाजिक सुरक्षा, श्रमजीवी पत्रकारको अधिकारको रक्षामा आवाज दिने हो,’ दाहालले भने ।
तस्बिर/भिडियो : संगम ढकाल

विस्तृत भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया