शनिबार, वैशाख १५, २०८१

पत्रकार पक्राउ गरेकामा कांग्रेसले जनायो आपत्ति

नेपालखोज २०७६ भदौ ३० गते २१:५१

काठमडौं, भाद्र । रेडियो नेपालको मुख्यालय सिंहदरबारभित्रबाट पत्रकार पक्राउ गरिएको घटनामा नेपाली काग्रेसले आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावललाई बिनाकारण निष्काशन गरिएको भन्दै पुनर्वहालीको मागसहित केही पत्रकारहरु वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका थिए । सो क्रममा उनीहरु पक्राउ परेका थिए ।

‘वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संवाद तथा वार्ताको माध्यमबाट निकास दिनुको सट्टा वर्तमान सरकारले ठिक विपरीत प्रहरी प्रशासन लगाई शान्तिपूर्ण रुपमा वार्ता गर्न पुगेका पत्रकारहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नु अत्यन्तै निन्दनीय भएको प्रमुख सचेतक खाँणले उल्लेख गरे ।

 

प्रतिक्रिया