शुक्रबार, माघ ११, २०८१

सप्री ल्होसारै आशीमाला !

सुनिल उलक २०८१ पुष १५ गते १३:३०

काठमाडौं । सम्पूर्ण तमु मित्रहरूलाई तमु ल्होसार (ल्होसार) को शुभकामना साथै सप्री ल्हो का मित्रहरूलाई अझ विशेष शुभकामना ।

Advertisement

ल्होसार तिब्बती शब्दबाट आएको शब्द हो । ल्हो भन्नाले वर्ष तथा उमेर जनाउँछ भने सार भन्नाले नयाँ भन्ने जनाउँछ । तसर्थ ल्होसार ले नयाँ वर्ष भन्ने जनाउँछ । तर गुरुङ अर्थात् तमुहरूले ल्होसार भन्ने गर्दछन् । 

तिब्बती बर्मेली समूहले तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । जस मध्य तोल ल्होसार पौष शुक्ल प्रतिपदामा मनाउने गर्दछन्, सोनाम ल्होसार माघ शुक्ल प्रतिपदामा तथा ग्याल्बो ल्होसार फाल्गुन शुक्ल प्रतिपदामा मनाइन्छ । तर ल्होसार नेपालका तमुहरूले पौष १५ गते मनाउने गर्दछन् । किन अन्यले झैँ तिथिमा नमनाएको भन्ने प्रश्न आउन सक्दछ । तर होइन तमुहरूले पनि तमु ल्होसार तोल ल्होसारकै समयमा मनाउने गर्दथे । किनकि तोल ल्होसार सबैभन्दा पहिले देखि मनाउँदै आएको ल्होसार पनि हो । अन्य ल्होसारहरू केही पछि मनाउन थालिएको हो । हुनसक्छ त्यस बेलाको राजनैतिक द्वन्दले आ-आफ्नो ल्होसार मान्ने सुरुवात भएको पनि हुन सक्छ ।

नेपालमा रहेका तमुहरूले पनि पहिले त्यो ल्होसार नै मनाउने गर्दथे । सोही दिन अर्थात् पौष शुक्ल प्रतिपदाका दिन नै मनाउने गर्दथे । तर पछि राणा प्रधानमन्त्रीले पर्व तथा पात्रो सुधारका क्रममा बि.सं. १९६१ देखि वैशाख १ गतेबाट नयाँ वर्ष शुभारम्भ हुने र सरकारी कामकाजको पात्रो विक्रम सम्वत् नै हुने घोषणा गरेपछि तमुहरूले मनाउँदै आएको ल्होसार पनि पुस १५ मा मनाउन थालियो । विक्रम सम्वत् अनुसार नै सम्पूर्ण सरकारी कामकाज हुने भए पछि पौष शुक्ल पूर्णिमा गतेका हिसाबले कहिले पर्दछ भन्ने यकिन नहुने कहिले ढिलो कहिले चाँडो पर्ने भए पछि सहजताका लागि पुस १५ गते नै गर्ने निर्णय गरिएको हो । 

यसैले पौष १५ गते तमुहरूले आफ्नो कूल थलोका रूपमा लिइने घ हिमाल अर्थात् अन्नपूर्ण दोस्रोमा घामको झुल्को पर्नासाथ ल्होसार सुरु हुन्छ । यस वर्ष मुप्री ल्हो को समाप्ति पछि सप्री ल्हो को आरम्भ हुन्छ । सप्री अर्थात् सर्प वर्गको सुरुवात हुनेछ ।

ल्होसारमा तमुहरू खेगी (पुरेत) लगाएर थासो (ग्रहदशा) फाल्ने गर्दछन् । थासो फाल्दा बेसार दलेर बनाइने काँचो धागोको डोरोलाई पुरुषको लागी नौ सरो र नौ गाँठो तथा महिलाको लागी सात सरो र सात गाँठो पारेर प्हैरू बनाइन्छ । ठुलाले घाँटीमा प्हैरू बाध्छन भने बालकहरूको कमरमा प्हैरू बाँध्ने गरिन्छ । श्री पञ्चमीबाट गर्मी सुरु हुने हुँदा प्हैरूको गाँठो पछाडि बाँधिन्छ भने नाग पञ्चमीबाट जाडो सुरु हुने मान्यताले गाँठो अगाडी बाँधिन्छ । आजैको दिन ब्राह्मण तथा क्षेत्रीहरू पुसे १५ को रूपमा उखुको खुदो मिसाएर पकाइने अनदी चामलको लट्टे भात खाने गर्दछन् । 

मगर समाजमा आजको दिन खुवा खाएर वनभोज मनाउँदै युवा युवतीहरू आफ्नो जीवनसाथी रोज्ने गर्दछन् । र घरजमको सुरुवात गर्दछन् । पश्चिम नेपालमा भने यस रात निकै लामो हुने हुँदा रात कटाउन गाह्रो हुने विश्वासले गाउँलेहरू मिलेर रातभर आगो बालेर आगो वरपर सबै बसेर नाचगान तथा कथा हालेर कटाउने गर्दछन् ।

यसर्थ पौष १५ सबैको साझा पर्व भएको छ ।

प्रतिक्रिया