२५ वर्ष अगाडि जानकी मन्दिर पुग्दा … !
काठमाडौं । घुम्ने क्रममा आफ्नो गाडी लिएर भारतको दार्जिलिङ, खर्साङ, मिरिक तथा नेपाल भित्रको इलाम, धरान, धनकुटा, बिराटनगर, इलाम, जनकपुर घुमेका थियौ । त्यो बेला खिचेका तस्बिरहरू भन्दा बढी भिडियोहरू छन् ।
जनकपुर अर्थात् जनकपुरधाम, हाम्रा हिन्दु आख्यानहरूका अनुसार यो प्राचीन रामायण कालिन विदेह राज्यको राजधानी थियो । बि.सं. ११३४ तिर कर्नाटवंशी राजा नान्यदेवले तिरहुत राज्यको स्थापना गरेका थिए । दिल्लीका सुलतान गयासुद्दीन तुगलकले ध्वस्त बनाए पछि बि.सं. १३८१ मा राजा हरिसिंहदेव भागे । उपत्यका हिँडेका हरिसिंहदेवको बाटोमा नै निधन भयो । तुगलकले बनाइदिएका शासकले पनि लामो समय रहन सकेनन् । यसरी तिरहूत राज्यको अस्तित्व मेटिन थाल्यो । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगाडी यहाँ सेन राज्यको अधीन थियो ।
बि.सं. १७१३ तिर जनकपुरधाम खोज्दै आएका योगी चतुर्भुज गिरीले सपनामा देखे अनुरूप जमिन मुनि खनेर हेर्दा चार वटा मूर्ति फेला पारे । लक्ष्मीनारायण, शेष अवतार, दशावतार तथा पञ्चमुर्ति (राम, लक्ष्मण, भरत, शत्रु घन तथा सीता) को सुनको मूर्ति फेला परेकोले बरको रुख मुनि स्थापना गरेर राम तथा सीताको पूजा गर्न थाले । यसरी त्यस बेलाबाट सीताको जन्मस्थलको रूपमा मन्दिर बनाइ पूजा गर्न थालिएको थियो । बि.सं. १७८४ मा पाल्पाका सेन राजा माणिक सेनले कुश बिर्ता दिएका थिए । जुन राजा गीर्वाणले कायम गरिदिएका थिए ।
बि.सं. १८२४ को भदौमा अङ्ग्रेजको तर्फबाट युद्ध लड्न आएका क्याप्टेन किन्लक जनकपुर हुँदै आएका थिए । आफ्नो सेनालाई आवश्यक रसदहरू जनकपुरमा लुट्न आउँदा त्यहाँका जनताले सबै लुकाएका थिए । भोकले व्याकुल सिपाही सिन्धुली माडी पुग्दा त्यहाँ पनि त्यस्तै अवस्था झेल्नु परेको थियो ।
अमरसिंह थापाले यहाँ रहेको राम मन्दिरमा नेपाली शैलीमा काठमाडौँबाट लगिएका मजदुरहरूबाट झिंगटीको छाना लगाएर मन्दिर मर्मत गरेको कारण पछि अङ्ग्रेजसँगको युद्धमा नेपाल र अङ्ग्रेज आफ्नो सिमाना कायम गर्न राजी हुँदा यही झिंगटीको छानाको कारणले यो क्षेत्र नेपाल भित्रको हो भन्ने प्रमाणित भएको थियो । अन्यथा यो क्षेत्र अङ्ग्रेजले आफ्नो क्षेत्रमा कायम गर्न खोजेका थिए ।
पछि भारत मध्य प्रदेश, टिकमगढका रानी ब्रिसभानु कुँवरीले बि.सं. १९६७ मा तैयार गरिदिएको जानकी मन्दिरको भव्यता नै जनकपुरको पहिचान अझ बढी गर्न मद्दत पुग्यो । त्यो समयमा नै नौ लाख रूपैमा खर्च भएको भनेर यसलाई नौलखा मन्दिर पनि भन्ने गर्दछन् । यो बाहेक जनकपुरको पर्यटन आकर्षण गर्न सक्ने थलो खासै छैन ।
प्रतिक्रिया