मंगलबार, वैशाख ११, २०८१

संसदको चालु अधिवेशन बिहीबार सकिदै, महत्वपूर्ण विधेयक थन्क्याईयो

नेपालखोज २०७६ असोज २ गते १३:३८

२ असोज, काठमाडौं । गत वैशाख १६ बाट सुरु भएको संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ । मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका सर्वाधिक विवादमा रहेका तर चासोका विधेयकहरुलाई थाती राखेर यस पटकको अधिवेशनको अन्त्य हुन लागेको हो ।

गत बैशाख १६ गते सुरु भएको संघीय संसदको चौथो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित ग¥यो । चालु अधिवेशनको मुख्य काम यही नै थियो । त्यसैले पनि यस अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिन्छ ।

पाँच महिनासम्म चलेको संसद अधिवेशनले भने महत्वपुर्ण विधेयकलाई पारित गर्न भने सकेन । मिडिया काउन्सिल, नागरिकता ऐन संशोधन, संघीय निजामति कर्मचारीको सेवा शर्त गठन र तीन तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयकहरु संसदीय विषयगत समितिमै छन् । अघिल्लो अधिवेशनमै दर्ता भएका केही विधेयकहरु विरोधका कारण प्रक्रियामै अगाडि बढ्न सकेनन् ।

दर्ता मात्र भए चार विधेयक

यो अधिवेशनभर चर्चामा रहेका विभिन्न ४ वटा विधेयकहरु भने केवल दर्तामै सिमित रहे । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दार्ता मात्र भएका छन् ।

यस्तै, चालु अधिवेशनमा करिब १२ वटा सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् । दर्ता कुनैपनि प्रस्ताव संसदमा प्रस्तुत हुन पाएन । बजेटपछि बिजनेश नभएको भन्दै संसदका बैठकहरु बाक्लोसँग बसेनन् तर सार्वजनिक महत्वको प्रस्ताव एउटा पनि प्रस्तुत हुन सकेन ।

चालु अधिवेशनको अन्तिम दिन संसदबाट ६ वटा विधेयक पारित हुँदै

बिहीवार प्रतिनिधि सभाबाट विभिन्न ६ वटा विधेयक पारित हुँदैछन् । राष्ट्रिय सभाबाट पारित भएर संदेशसहित आएको राहदानी विधेयक, भूमिसम्बन्धी विधेयक र राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।  यस्तै, प्रतिनिधिसभा संसदीय समितिबाट तीनवटा विधेयक समितिको प्रतिवेदनसहित पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया