मंगलबार, वैशाख ११, २०८१

औद्योगिक विकासका लागि उद्योग सङ्घको अवधारणा सार्वजनिक

नेपालखोज २०७६ असोज ५ गते १३:१०

५ असोज, रुपन्देही । रुपन्देहीका उद्योगीहरूले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरूले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन् ।
शनिबार बुटवलमा अवधारणा सार्वजनिक गर्दै उद्योगीहरूले यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने लक्ष्यसहितको उद्योगहरूको स्थापना गर्न लाग्नुपर्ने सुझाव दिए । राज्यका गलत नीतिका कारण र औद्योगिक विकास कसरी गर्न सकिन्छ भनेर ठोस रणनीति बनाउन नसक्दा आर्थिक समृद्धि धेरै पछाडि परेको उनीहरूले गुनासो गरे । औद्योगिक विकासको लागि रुपन्देही उद्योग सङ्घको अवधारणा सार्वजनिक कार्यक्रममा प्रस्तुत अवधारणापत्रमार्फत सो सुझाव र गुनासो गरिएको हो ।
सरकारका पूर्वसहसचिव विष्णुप्रसाद ढकालले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा औद्योगिक र आर्थिक विकास निजी क्षेत्रको सहभागिताबिना सम्भव नभएको दाबी गर्दै कृषिको निर्भरता कम गर्ने, उपलब्ध प्राकृतिक तथा भौतिक स्रोत साधनको उपयोग गर्दै उद्योगहरू सञ्चालन गर्ने योजना बनाउन भनिएको छ ।
अवधारणापत्रमा उद्योग स्थापनाका लागि उचित वातावरणको आवश्यकता पर्ने हुँदा आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर बनाउन उत्पादनशील अर्थतन्त्र बनाउने नीति कार्यान्वयन गर्दै नेपाललाई सशक्त औद्योगिक मुलुकका रूपमा रुपान्तरित गराउने कार्यको थालनी गर्न सुझाव दिइएको छ । त्यसका लागि राज्य र निजी क्षेत्रबीच दरिलो प्रतिबद्धता र नेपालको औद्योगिक विषयसँग सम्बन्धित नीति÷नियमहरूको सुधार तथा दीर्घकालीन सोच बनाउन बुँदागतरूपमा तर्क राखिएकोे छ ।

प्रतिक्रिया