शुक्रबार, चैत १६, २०८०

भारु नोटको समस्याबारे गृह र अर्थ मन्त्रालय छलफलमा जुट्दै, भोलीसम्म निचोड निस्किने

नेपालखोज २०७६ असोज ७ गते १३:२४

७ असोज २०७६, काठमाडौँ ।     दशैँ नजिकिदै गर्दा छिमेकी मुलुक भारतमा रोजगारीकालागि गएका नेपालीहरु फर्किने क्रम बढ्दै छ । उनीहरु स्वदेश फर्कदा भारतीय नोटहरु समेत बोकेर ल्याउँछन् । तर, नेपालमा हाल पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोट चल्दैनन् ।

दशैँका समय सिमा क्षेत्रमा भारतीय नोटको प्रभाव बढी नै हुन्छ । यो प्रभाव चिन्ताको विषय बन्न सक्ने भन्दै सरकारले यस बारे चासो देखाएको हो । भारु नोटले निम्त्याउन सक्ने सम्भावित समस्यालाई मध्येनजर गर्दै यसै विषयमा गृह मन्त्रालय र अर्थमन्त्रालयबिच छलफल हुदै छ ।

अर्थ मन्त्रालयका सुचना अधिकारी उत्तरकुमार खत्रीका अनुसार अर्थ र गृह मन्त्रालयले मंगलबार वा बुधबारसम्म छलफल गरी भारु नोटबारे निचोड निकाल्ने जानकारी दिए । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग मंगलबार नै धारणा माग्दै छ ।

यता, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार पाँच सय, एक हजार र दुई हजार दरका भारती नोटहरु नेपालका कारणले नभई भारतकै कारणले नेपालमा चल्न नसकेका हुन् । भारु नोटबारे दशैँ लक्षित कुनै निर्णय भै नसकेकाले यसबारे केही छलफल हुने प्रवक्ता निरौला बताउँछन् ।

हुन त, भारु नोट र दशैँ लक्षित योजनाबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहज वातावरण बनाउन समितिले सरकारलाई निर्देशन दिईसकेको छ । समितिले दशैं मान्न घर फर्किने नेपालीले नेपालमा नचल्ने भारतीय नोट ल्याए पनि कारबाही नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । हाल नेपालमा भारतको एक सय रुपैयाँमात्र प्रचलन गर्न पाइन्छ ।

पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोटको कारोबार गर्न पाइदैन । तर भारतमा रोजगारी गर्नेले घर फर्किँदा यस्तो रकम बोक्न सक्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् ।      नेपालमा नचल्ने भारतीय नोट ल्याएको भन्दै बोर्डरमा प्रहरीले दुख दिन सक्ने भएकाले यस बारे गृह मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक छलफल गरी भोली सम्म निर्णय निकाल्ने छ ।

प्रतिक्रिया