बिहीबार, वैशाख ६, २०८१

दश वर्षे बन्दमुखी योजनामा शेयर खुल्यो

नेपालखोज २०७६ असोज ७ गते १४:४८

७ असोज २०७६, काठमाडौँ । सनराइज फस्ट म्युचुअल फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्तालाई पहिलो वर्षमा नै आकर्षक लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । असोज ८ गते बुधबारदेखि योजना बिक्रीमा आउदै छ ।

सनराइज फस्ट सनराइज क्यापिटलको व्यवस्थापन तथा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित भई बुधबारदेखि योजना बिक्रीमा आउन लागेकोे मंगलबार पत्रकार सम्मेलन   मार्फत जानकारी गराईएको छ ।     कूल १० करोड इकाइको सामुहिक लगानी कोषबाट लगानीकर्तालाई पहिलो वर्ष नै १० प्रतिशतसम्म लाभांश वितरण गर्ने योजना रहेको सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिए ।

क्यापिटलले कोषको इकाईमा लगानी गर्ने इकाइधनीहरुलाई पहिलो वर्ष १० प्रतिशतसम्म, दोस्रो र तेस्रो वर्षमा १२ प्रतिशत, चौंथो र पाँचौं वर्षमा १४ प्रतिशत, छैटौं र सातौं वर्षमा १६ प्रतिशत र आठौं र नवौं वर्षमा १८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । कोषले औसत रुपमा वार्षिक लाभांश १४ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रक्षेपण गरेको हो । सनराइज फस्टको पहिलो वर्ष प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ र दशौं वर्षसम्ममा २१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

सनराइज बैंकको प्रवद्धनमा सनराइज क्यापिटलले असोज ८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सनराइज फस्र्टको इकाई बिक्रीमा ल्याउन लागेको हो ।

सनराइज फस्र्ट सनराइज क्यापिटलले सञ्चालनमा ल्याउन लागेको पहिलो सामूहिक लगानी कोष योजना हो । यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो । फण्डले १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

फण्डको इकाईमा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । साथै लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरीबाट पनि आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको पहिलो म्युचुल फण्डको कोष सुपरिवेक्षकमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहेका छन् । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया