बिहीबार, वैशाख १३, २०८१

शिव श्री हाइड्रोपावरमा सर्वसाधारणकालागि असोज १६ गतेदेखि शेयर खुल्दै

नेपालखोज २०७६ असोज ८ गते १४:२०

८ असोज २०७६, काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि यही असोज १६ गतेदेखि प्राथमिक शेयर खुल्ला गर्दै छ । कम्पनीले छिटोमा असोज २४ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

सर्वसाधारणका लागि ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने र सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने शिव श्री हाइड्रोपावर कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले गत पुसमा प्रभावित क्षेत्रका बासिन्दाको लागि १४ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । शेयर मध्ये प्रभावितले शेयर खरिद गरेको ११ लाख ३६ हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औसत किसिमको रहेको हुँदा औसत जोखिमको संकेत गर्छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भुकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर २० करोड ७० लाख रुपैयाँ पुगेको हो।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्षको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्षको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

प्रतिक्रिया