शनिबार, वैशाख १५, २०८१

आईसीसीको टी—ट्वान्टी वरियतामा कप्तान पारसको स्थान यथावत, सोमपाल र बसन्तको वरियता घट्यो

नेपालखोज २०७६ असोज ९ गते १४:३९

९ असोज २०७६, काठमाडौं ।   अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टी—ट्वान्टी क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ । आईसीसीको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् । जसमा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा यथावत रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डाय, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् । सोमपाल न्युजिल्यान्डका टिम साउथे, पाकिस्तानका हसन अली, वेष्ट इण्डिजका सुनील नारिने भन्दा अघि रहेका छन् ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६६ औं स्थानमा रहेका छन् । ४१७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी, मनिस पाण्डे, सुरेश रैना र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् ।

३९१ रेटिङ अंक पाएका सोमपाल एक स्थान झर्दै रहदै ७८ औं स्थानमा झरेका छन् । यस्तै ४११ रेटिङ अंक पाएका बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा रहेका छन् ।

आईसीसीको टिमको टी—ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ । एकदिवसीयमा एक स्थान तल झर्दै नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया