बुधबार, कार्तिक ५, २०७७

काङ्ग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने

नेपालखोज २०७६ असोज १० गते २१:४९

१० असोज, काठमाडौं । नेपाली काङ्ग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको छ ।

सहमतिको दस्तावेजअनुसार काङ्ग्रेसका साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर÷उपमहानगर÷महानगर कार्यसमिति, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार काङ्ग्रेसलाई पार्टीको उपसभापति र सो पार्टीका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो । यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी साङ्गठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिको गठन गरिएको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, एनपी साउँद, भीष्मराज आङ्दम्बे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकले उपसभापति निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजनसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया