शुक्रबार, वैशाख १४, २०८१

डण्डीफोर हटाउने यी हुन् उपाय

नेपालखोज २०७६ असोज १० गते २२:०८

डण्डिफोरका कारण सुन्दर अनुहारलाई कुरूप बनाइदिन्छ । प्राय : जवान व्यक्तिका अनुहार डन्डिफोरबाट सताइएका हुन्छन् । सुन्दरतामा बढी ख्याल गरिने उमेरमा डन्डिफोरले अनुहार नै बिगारिदिन्छ । शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।

सबै उमेरका व्यक्तिमा समान असर नपार्ने भिटामिन बी–१२ ले ‘मेटाबोलिक रेट’मा पार्ने प्रभावअनुसार डन्डिफोर पैदा हुन्छ । अव यसलाई हटाउनका लागि यी कुराहरु याद गर्नुस् ।

० अनुहारमा डन्डिफोर आएर हैरान हुनुहुन्छ भने सबैभन्दा पहिले खानपिन बदल्नुहोस् । भिटामिन बी–१२ पाइने खानामा नियन्त्रण गर्नुहोस् । अनिदोले पनि डन्डिफोर पैदा गर्छ । डन्डिफोरबाट मुक्त हुन न्यूनतम ६ घन्टा निदाउनैपर्छ । दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । पानीले शरीरको छालालाई सधैँ ‘हाइड्रेट’ राख्नुका साथै शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

० धेरैको बानी हुन्छ, अनुहारमा डन्डिफोर आयो कि निचोरिदिने । यो बानीले अनुहार झन् कुरूप बनाउँछ । तपाईंको पनि यस्तै बानी छ भने तुरुन्त बन्द गरिहाल्नुहोस् । एउटा डन्डिफोर निचोर्दा अनुहारभरि धेरै डन्डिफोर फैलिन थाल्छ ।

० चन्दनको पाउडर डन्डिफोर हटाउने महत्त्वपूर्ण औषधि हो । चन्दनलाई पानीमा मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । गुलाबजल पनि मिलाएर लगाए झनै राम्रो । अनुहारमा लगाएको पेस्ट सुकेपछि चिसो पानीले हल्कासँग धुनुहोस् । नियमति चन्दन लगाएको केही दिनमै डन्डिफोरबाट छुटकारा पाउनुहुनेछ ।

० टुथपेस्ट पनि डन्डिफोरको औषधि हो । डन्डिफोर आएको ठाउँमा राति सुत्नुअघि टुथपेस्ट लगाउनुहोस् । डन्डिफोर गायब भएको पत्तै पाउनुहुनेछैन ।

० दालचिनीको पाउडर र मह मिलाएर डन्डिफोरमा लगाउनुहोस् र हल्का रगड्नुहोस् । राति लगाएको पेस्ट बिहान मनतातो पानीले धुनुहोस् । डन्डिफोर कम हुँदै जान्छ । जाइफलमा केही थोपा काँचो दूध मिलाएर अनुहारमा लगाउँदा डन्डिफोर हराउँछ ।

० सुन्ताला खाने मात्रै होइन, लगाउनुहोस् पनि । बोक्रा खास महत्त्वपूर्ण हुन्छ । सुन्तालाको बोक्रालाई कुटेर धुलो पार्नुहोस् । यसमा गुलाबजल मिलाएर डन्डिफोरमा लगाए ठीक हुन्छ ।

प्रतिक्रिया