बुधबार, वैशाख २६, २०८१

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

नेपालखोज २०७६ असोज ११ गते २०:२७

११ असोज, वैतडी । बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन् ।

दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै बैतडीका छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेङ्गु देखिएको हो । यस्तै बैतडीका २४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ ।

दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रबटाइफस परीक्षण कीट उपलब्ध गराएको छ । देशैभरि उक्त रोगका बिरामी फेला परेकाले रोग परीक्षणमा सहयोग पु¥याउन २५ वटा कीट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेङ्गु परीक्षण कीट उपलब्ध गराएको थियो । नगरपालिकाले स्क्रबटाइफस र डेङ्गुबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया