शुक्रबार, वैशाख ७, २०८१

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

नेपालखोज २०७६ असोज १२ गते १४:१३

१२ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गर्नुभयो । मानार्थ उपाधि प्राप्त गर्नेहरुमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत हुनुहुन्छ । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो ।

चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ । पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताउनुभयो ।

पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री हुनुहुन्छ । उहाँ सन् १९१५ मा जन्मनुभएको हो । उहाँ सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्नुहुन्थ्यो । चीनको चेङ्दुमा जन्मनु भएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि “चीनका पुराना मित्र” का रुपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उहाँले विशेष सहयोग गर्नुभएको थियो । यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहनुभएको छ ।

समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया