शुक्रबार, चैत १६, २०८०

उपप्रधान एवं रक्षामन्त्रीबाट नेपाल खोजको शुभारम्भ

नेपालखोज २०७६ असोज १२ गते १९:३३

१२ असोज, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सरस्वती इभेण्टसले सञ्चालनमा ल्याएको खोज तथा अनुसन्धानमूलक डिजिटल पत्रिका नेपाल खोज डटकमको औपचारिक शुभारम्भ गर्नु भएको छ ।
काठमाडौं आयोजित विशेष कार्यक्रम मार्फत मन्त्री पोखरेलले अनलाइन पत्रिकाको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै रक्षा मन्त्री पोखरेलले मुलुक समृद्ध तर्फ अगाडि बढिरहेको चर्चा गर्नु हुँदै अवको समय प्रेरणादायी समाचार, जनताको आवाज र सत्य तथ्य खोजी समाचारको आवश्यकता रहेको बताउनु भयो ।

‘अहिले शिष्टाचार र मर्यादाका कुरा हराउँदै गएको’ छ मन्त्री पोखरेलको भनाई थियो । त्यस्ता विषयले भोलीका सन्ततीलाई गलत मार्गतिर लैजाने हो कि भन्ने चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा प्रस्तुत हुने विषय मर्यादामा आँच पुग्ने खालका हुन नहुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेपाली कागें्रसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रजातन्त्र, लोकतन्त्र खतरामा रहेको बताउनु हुँदै त्यसलाई जोगाउन सरकारलाई आग्रह गर्नु भयो । सरकार दम्भले होइन, संयमताका साथ जुन अठोट लिएर गठन भएको छ, सोही अनुरुप बाचा पूरा गरेर अगाडि बढ्न समेत उहाँले सचेत गराउनु भयो ।

कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले लोकतन्त्र मुटु नै प्रेस भएको बताउनु हुँदै, जवसम्म प्रेस स्वतन्त्र रहँदैन तवसम्म लोकतन्त्र सफल नहुने धारणा राख्नु भयो । उहाँले ७ साल, १७ सालदेखि ४६ सालसम्मको प्रसंग कोट्याउनु हुँदै राजाले प्रेसलाई निमिट्यान्न पार्न खोजेकै कारण ठूलो मूल्य चुकाउनु परेको बताउनु भयो । अहिले वर्तमान सरकार पनि प्रेसलाई कुण्ठित गर्न लागिरहेकाले लोकतन्त्रमा फेरि प्रेस संकटमा परेको बताउनु भयो ।

पूर्वगृहराज्य मन्त्री एवं प्रदेश नं। ३ का प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले नेपाल कतै हराईरहेकोले खोजी गर्नु पर्ने अवस्था आएको आभाष भएको बताउनु भएको छ । ‘राजनीतिक नेतृत्व, व्यवसायी मिडिया सवै बाँडिएका छन्, यो दल वा त्यो दलका रुपमा विभाजित हुन दुख्द हो’ बाँनियाको भनाई थियो ।
सोही कार्यक्रममा बोल्नु हुँदै प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले डिजिटल सञ्चार माध्यमको संख्यामा भएको बृद्विसँगै समान दृष्टिका समाचारले पिरोल्ने गरेको बताउनु भयो । उहाँले विगतमा सञ्चार माध्यमहरु प्रतिष्पर्धात्मक भएकाले सफलहुँदै गएको उल्लेख गर्नु हुँदै अहिले सञ्चालनमा रहेका नयाँ सोच र प्रविधियुक्त सञ्चार माध्यमहरुले देश, जनताका भावनालाई समेट्न सक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सरस्वती इभेण्टस्का अध्यक्ष सुवास शर्माले नेपाल खोज वर्तमान समयको माग भएको र यसले अनुसन्धान एवं खोजका विषयलाई जोड दिएर अगाडि बढ्ने बताउनु भयो ।

 

प्रतिक्रिया