शुक्रबार, चैत १६, २०८०

छाला र यौन रोगको उपचार बुटवलमै

नेपालखोज २०७६ असोज १३ गते ८:०९

१३ असोज, रुपन्देही । प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मसात गर्न अग्रह गर्नुभयो । उहाँले आधुनिक चिकित्सा विज्ञानका कारण जटिल रोगको समेत साधारण तरिकाले उपचार सम्भव भएको बताउँदै यसलाई दुर्गम क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभाका सदस्य भोप्रसाद श्रेष्ठ र दधिराम न्यौपानेले प्रदेशमै छाला र यौनसम्बन्धी सबै प्रकारका स्वास्थ्य सेवाको सहज उपलब्धता हुनु महत्वपूर्ण विषय भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेपाल चिकित्सक सङ्घका रुपन्देही अध्यक्ष नन्दा गुरुङ, पुनाराम पोखरेल, लेखक ऋषि आजादलगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

छाला तथा यौन रोग, कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी रोगले प्रभाव पार्ने शारीरिक, मानसिक र सामाजिक समस्याको निराकरण गर्ने उद्देश्यले रु एक करोड ९५ लाख ८० हजारको लगानीमा छाला र यौन रोगको उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष यमबहादुर थापामगरले जानकारी दिनुभयो ।
सेन्टरमा कम्प्युटर विधिद्वारा छाला परीक्षण गर्ने, छाला तथा यौन रोग, कुष्ठरोग, नङ, कपाल आदिमा देखिने रोगसम्बन्धी सम्पूर्ण उपचार सेवाको व्यवस्था गरिएको विशेषज्ञ डा ललन खतिवडाले बताउनुभयो । सेन्टरका विशेषज्ञ डा विक्रम ज्ञवालीले लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनावश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचार सेवासमेत प्रदान गरिने बताउनुभयो ।

सेन्टरमा छाला तथा यौन रोग, कुष्ठरोग विशेषज्ञ, कस्मेटोलोजी विशेषज्ञ, लेजर सल्य चिकित्सक विशेषज्ञस, प्लास्टिक सर्जरी विशेषज्ञ, जनरल सर्जरी विशेषज्ञलगायत अन्य स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया