बुधबार, वैशाख २६, २०८१

दसैंका लागि खसी–बोकाको बिक्री वितरण सुरु , यस्तो छ यस वर्ष खसीको मुल्य

नेपालखोज २०७६ असोज १३ गते १६:४५

१३ असोज २०७६, काठमाडौँ । सरकारले दसैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ ।

सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दसैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो ।

खसी,बोकाको प्रतिकेजी रु ५ सय ५० र च्याङग्राको प्रतिकेजी रु ७ सय ३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६ सय २० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५ सय ५० मूल्य कायम गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । विभागले सरकारले सुपथ मूल्यमा बिक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ ।

२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दसैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया