शनिबार, वैशाख ८, २०८१

आइजिपीका बडिगार्डदेखि भान्सेसम्मलाई विभूषण

नेपालखोज २०७६ असोज १६ गते ८:५३

१६ असोज, काठमाडौं । यस वर्ष सरकारले वितरण गरेको विभूषणलाई लिएर प्रहरीमा असन्तुष्टि देखिएको छ । काम गर्नेलाई भन्दा निकटताको आधारमा विभूषण दिइएको प्रहरी अधिकारीहरूको गुनासो छ । यो वर्ष ९४ जना प्रहरीले मान, पदवी, अलंकार र पदक पाएका थिए । जसमध्ये आठजना प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत प्रहरी छन् ।

सचिवालयमा कार्यरत डिएसपी किरणजंग कुँवर, इन्स्पेक्टरहरू पूर्णिमा चन्द, शर्मिला गुरुङ, राजेशराज पुरी, सइ वसन्त दाहाललाई विभूषण दिइएको छ । सइ दाहाल एक महिनाअघि मात्र सचिवालयबाट अपराध–अनुसन्धान विद्यालयको लेखापालमा सरुवा भएका थिए । त्यस्तै, आइजिपीको सचिवालयमा रासन खरिद गर्ने क्वार्टरमास्टर अर्जुन घिमिरे तथा भान्सेहरू द्रोणराज बोहरा र सुमन त्रिपाठीले विभूषण पाउँदा फिल्डमा तथा अपराध–अनुसन्धानमा उत्कृष्ट काम गर्ने अधिकारीहरू भने समेटिएनन् । ठूला अपराधको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का कसैले पनि यो वर्ष विभूषण पाएनन् ।

प्रहरी महानिरीक्षकले गरेको सिफारिसका आधारमा सरकारले प्रहरीलाई विभूषण दिन्छ । सिफारिस गर्र्दा नै संगठनका लागि योगदान दिइने प्रहरीलाई बेवास्ता गरिएको प्रहरीको गुनासो छ ।

यो वर्ष सरकारले ६ सय ३४ जनालाई विभूषण दिने निर्णय गरेको थियो । ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५’ले सुरक्षा निकायका लागि विभूषणको कोटा तोकेको थियो । तर, त्यसविपरीत धेरैलाई दिने निर्णय भएको छ ।

कार्यविधिअनुसार नेपाली सेनाबाट एक वर्षमा बढीमा २५, नेपाल प्रहरीबाट २०, सशस्त्र प्रहरीबाट १२ तथा राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का लागि चारवटा कोटा तोकिएको थियो । तर, यो वर्ष नेपाली सेनाका ९६, नेपाल प्रहरीका ९४ तथा सशस्त्र प्रहरी बलका ४५ जनाले विभिन्न विभूषण पाएका छन् ।

कार्यविधिमा एकदेखि तीन सय जनशक्ति भएको क्षेत्रबाट एकजना, तीन सय एकदेखि पाँच सय जनशक्ति भएको क्षेत्रबाट दुईजना, पाँच सय एकदेखि एक हजार जनशक्ति भएको क्षेत्रबाट तीनजना, एक हजारदेखि पाँच हजार भएको क्षेत्रबाट चार तथा पाँच हजारदेखि माथि जनशक्ति भएको क्षेत्रबाट पाँचजनाको कोटा निर्धारण गरिएको छ । यो मापदण्डलाई समेत लत्याइएको छ । -नयाँपत्रिकाबाट

प्रतिक्रिया