शुक्रबार, वैशाख १४, २०८१

जुम्लाका शिक्षकको ‘उधारो’ दशैं

नेपालखोज २०७६ असोज १७ गते ११:००

शुक्रबार १७ असोज, जुम्ला । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाले चारवटा विद्यालयको खाता रोक्का गरिदिँदा जुम्लाका शिक्षकको दशैं उधारो बनेको छ । दशैंको मुखैमा विद्यालय व्यवस्थापन समिति गठनमा विलम्ब गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता नै रोक्का गरिदिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

यसअघि नगर क्षेत्रका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न नगरपालिकाले सर्कुलर गरेको थियो । खाता रोक्का हुनेमा कर्णाली मावि अनामनगर, चन्ददनाथ नमुना मावि, रत्नचुडेश्वर मावि र भैरव मावि धुपीढुक्का रहेका छन् । ती विद्यालयले नगरपालिकाको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन नगर्दा कारबाही गरिएको नगरपालिकाले जनाएको छ । ७ असोजमा नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकलाई ती विद्यालयका खाता रोक्का गरिदिन लिखितपत्र नै काटेको थियो ।

नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको हस्ताक्षर रहेको उक्त पत्रमा ३ असोज २०७६ मा नगर शिक्षा समितिको निर्णयअनुसार नगरपालिकाको निर्णय अटेरी गरेकाले अर्को आदेश नहुन्जेलसम्मका लागि खाता रोक्का गरिदिन उल्लेख गरिएको छ । यसबाट ती विद्यालयका सयौं शिक्षक प्रभावित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठन गरेको तीन वर्ष पूरा भएपछि मात्र अर्को गठन गर्ने नियम छ तर विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिको गठन गरेको तीन वर्ष पुग्न केही समय बाँकी नै छ ।

दशैं–तिहारलगायतका महत्वपूर्ण चाडपर्वको बेला नगरपालिकाले आफूहरूलाई अन्याय नगरेको भन्दै विद्यालयले असन्तुष्टि जनाएका छन् । नरगपालिकाले आफूलाई न्याय गर्नुको साटो अन्याय गरेको उनीहरूको ठम्याइ छ । नगरपालिकाको उक्त निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । नगरपालिकाकी प्रमुख सेजुवालसमेत पूर्वशिक्षक हुन् । उनले लिएको कठोर निर्णयबाट शिक्षकहरूको यसपटकको दशैं खल्लो हुने निश्चित भएको छ । बाजुराका जागेश्वर उपाध्याय जुम्लाको कर्णाली मावि अनामनगरमा अध्यापन गराउँछन् । विद्यालय बिदा भएलगत्तै दशैं मनाउन घर जाने योजना छ उनको । केही वर्षदेखि अध्यापनको सिलसिलामा जुम्लामा रहेका उपाध्याय दशैं–तिहारजस्ता चाडपर्वको बेला मात्रै घर जान पाउँछन् । चौमासिक तलब पाउँला जुम्लाको नासो लिएर परिवार भेट्न जाउँला भनेर सोच बनाएका उनलाई घर जान नै मुस्किल पर्ने अवस्था आएको छ ।

शिक्षक उपाध्याय भन्छन्, ‘ऋण निकालेर रित्तो हात घर फर्किनुपर्ने भयो । घर कसरी फर्किने अन्योल सिर्जना भइसक्यो,’ उनले भने, ‘यसपालिको दशैं त उधारोमै बित्ने भयो ।’ उनी मात्रै होइन, सोही विद्यालयका शिक्षक नेपालगन्जका विवेकराज मिश्रका पनि कथा उस्तै छ । परिवारसहित घर जाने तयारी गरेका उनको योजनामा पूर्णविराम लागेको छ । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया