शुक्रबार, चैत १६, २०८०

अर्थमन्त्री खतिवडाले भारतीय वित्तमन्त्रीलाई भेट, नेपालमा रहेका प्रतिवन्धित भारतीय नोट साटिन्छन् त ?

नेपालखोज २०७६ असोज १७ गते १३:००

१७ असोज २०७६, काठमाडौँ । भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच शुक्रबार भेटवार्ता भएको छ ।

भारतीय वित्त मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा.खतिवडाले नेपालमा ठूलो परिमाणमा रहेका ५ सय र एक हजारका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

मन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारुको सटही सम्बन्धमा देखिएको समस्या समाधान गर्न आग्रह स्रोतले जनाएको छ ।

भारतबाट नेपालतर्फ जाने व्यक्तिले आफूसँग लैजान पाउने ठुला दरका भारु नोट फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत उनले आग्रह गरेका छन् ।

भारतले कालोधनविरुद्ध कारवाही गर्ने भन्दै एकाएक ५ सय र एक हजार भारुका नोट प्रतिवन्धित गरेको थियो । सो प्रतिवन्धपछि उसले आफ्नो देशका नागरिकसँग रहेका ती नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको छ ।

भेटमा नेपालको विकासका लागि भारत सरकारवाट प्राप्त सहयोगका लागि मन्त्री डा. खतिवडाले धन्यवाद दिए । साथै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको थियो । उनले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराए ।

साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयनको अवस्थाबारे समेत दुई अर्थमन्त्रीबीच छलफल भएको  छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्न प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अर्थमन्त्रीले मारतीय समकक्षीसँग आग्रह गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायत विषयमा समेत दुई अर्थमन्त्रीबीच छलफल भएको छ ।

नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा.खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

भेटमा भारतीय वित्तमन्त्री निर्मला सितारमणले नेपाल–भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहयोग बढाउने बताइन् ।

उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आश्वासन समेत दिएकी छिन् । भेटमा अर्थमन्त्रीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्ता समेत दिएका छन् ।

प्रतिक्रिया