शुक्रबार, वैशाख १४, २०८१

टि ट्वाण्टी सिरिजमा नेपालले हङकङलाई हरायो

नेपालखोज २०७६ असोज १९ गते १९:४३

१९ असोज, काठमाडौं । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।

१ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स आरिफ शेख र बिनोद भण्डारीले उकासेका थिए ।

आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए ।

ओपनर पारस खड्कालाई शुन्य रनमा गुमाएपछि नेपाली टिम दबाबमा आएको थियो ।

अर्का ओपनर पवन सरार्फलाई १० मा गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए ।

सोमपाल कामीले १३ रन जोडेका थिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।

हङकङका लागि वाकस बर्कातले सर्वाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए ।

नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए ।

पहिलो खेलमा हङकङ ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया