शुक्रबार, वैशाख ७, २०८१

चिनियाँ राष्ट्रपतिको स्वागतकालागि कर्मचारीहरु सडकमा

नेपालखोज २०७६ असोज २५ गते १६:४०

२५असोज २०७६, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले हातमा नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् ।

सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित भएर सीको विदाई गर्न निर्देशन दिइएको छ ।

दुईदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आएका सी आइतबार अपराह्न स्वदेश फर्किने छन् । चीनबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण भएकाले सरकारले स्वागतदेखि सुरक्षा प्रवन्धसम्म विशेष तयारी गरेको छ । सीको स्वागतका लागि सर्वसाधारण नेपाली नागरिक पनि परम्परागत पोशाक लगाएर बाजागाजाका साथ सडक किनारामा उभिएका छन् ।

सडक किनारका खम्बाहरुमा चिनियाँ राष्ट्रपति सीका तस्वीर र दुवै देशका राष्ट्रिय झण्डा राखिएको छ । काठमाडौंका सडकलाई फूल र स्वागतद्वारले विशेषरुपमा सजाइएको छ । सीको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रतिक्रिया