बुधबार, वैशाख १९, २०८१

यस्तो छ एनआरएनएको चुनावी भिडन्त

नेपालखोज २०७६ असोज २७ गते १२:२५

२६ असोज २०७६, काठमाडौँ । गैरआबासीय नेपाली संघको (एनआरएनए) को विश्वसम्मेलन मंगलबारबाट काठमाडौँमा हुँदैछ । एनआरएनको यस नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने छन् ।

संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।

एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन् । संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुवै जना उपाध्यक्ष पदमा विजयी बनेका थिए । गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित ) निर्वाचन हुन लागेको हो । यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो ।

यसैगरी, निर्वाचनमार्फत संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा एक जना महिलासहित ५ जना, महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एक/एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् ।

त्यसैगरी, क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै, एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २र२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १र१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् ।

प्रत्येक क्षेत्रबाट १—१ जनाका दरले ६—६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

प्रतिक्रिया