बिहीबार, वैशाख १३, २०८१

चिनियाँ लगानी सहजीकरण गर्न कार्यदल

नेपालखोज २०७६ असोज २८ गते ८:००

२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपतिको २ दिने नेपाल भ्रमण सकिए लगतै नेपालमा उत्तरी छिमेकी चीनका लगानीकर्ताहरूको चासो बढिरहँदा दुवै मुलुकले लगानी सहकार्यका लागि कार्यदल बनाउने समझदारी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा क्रममा भएको समझदारी अनुसार नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरू सम्मिलित कार्यदल गठन पश्चात कार्यदलले लगानीसम्बन्धी सम्पूर्ण सरोकारका विषयमा संवाद गर्नेछ ।

अर्थ मन्त्रालयका अनुसार चिनियाँ लगानी प्रवर्द्धन गर्ने यस्तो संयन्त्र हालसम्म थिएन । चिनियाँ लगानी भित्र्याउन प्रयत्न हुँदै आए पनि अब बन्ने दुई देशबीचको कार्यदलले नेपालमा चिनियाँ लगानी बढाउनका निम्ति लगानीका क्षेत्र पहिचान गर्ने तथा थप लगानी भित्र्याउन सहयोगी हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार दुई देशबीचको लगानी बढाउन यो कार्यदलले आपसी कानूनी समस्या, नियामक समस्या, सञ्चालनमा रहेका आयोजना छिटो सम्पन्न गर्ने उपाय खोज्न नियमित छलफल गर्नेछ ।

अर्थ मन्त्रालयका अनुसार कार्यदलले सहायता, ऋण वा निजी लगानीका बारेमा सहजीकरण गर्ने छ । अर्थ मन्त्रालयलको चीन डेक्स हेर्ने उपसचिव डीबी क्षत्री भन्छन्, ‘लगानीका लागि सहजीकरण गर्न यो संयन्त्र निकै महत्त्वपूर्ण हुनेछ ।’ उनका अनुसार लगानी सहजीकरण गर्न नेपाल सरकारका अन्य एजेन्सी रहे पनि यो संयन्त्रले अब चिनियाँ लगानी भित्र्याउन रहेका अप्ठ्यारा नीतिगत विषयमा समेत सहजीकरण गर्नेछ । ‘नीतिगत तहमा कुनै समस्या भए वा बाधा आइपरे यो कार्यदललाई टुंग्याउनेसम्मको अधिकार रहनेछ,’ उनले भने ।

प्रतिक्रिया