बुधबार, वैशाख १२, २०८१

विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउ

नेपालखोज २०७६ असोज २८ गते १३:०१

२८ असोज, काठमाडौँ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्।  राष्ट्रिय जनता पार्टीका सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार मध्याह्न पक्राउ गरिएको हो ।

सांसद थापालाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया थालेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका हुन्। साह काठमाडौंबाट जनकपुर फर्किने सिलसिलामा त्रिभुवन विमानस्थल पुगेका थिए।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए। समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र अभद्र व्यवहार गरेका थिए।

उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११ ः ४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको भन्दै उनले आक्रोश पोखेका थिए। आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले काउन्टरमा मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।

अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए।

प्रतिक्रिया