शुक्रबार, चैत १६, २०८०

सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

नेपालखोज २०७६ असोज २९ गते १४:१९

२८ असोज, काठमाडौँ । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक हासिल गरेको छ । प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक प्राप्त गरेको हो ।

२४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो । जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए । नेपालबाट गुरुङको नेतृत्वमा गएको टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए ।

युद्धकालीन बिशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।

सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिन्छ।

प्रतिक्रिया