शुक्रबार, वैशाख १४, २०८१

शेयर बजार आज : प्रभु बैंकको शेयरमा उच्च कारोबार

नेपालखोज २०७६ असोज २९ गते १७:३८

२९ असोज, काठमाडौँ । मंगलबार ५ अंकले सकारात्मक रहेको शेयर बजार सूचक नेप्से बुधबार पुन ५ अंकले नै घट्न पुगेको छ। कारोबारमा आएका एघार उप समूहका सूचकमध्ये विकास बैंक, जलविद्युत र म्युचुअल फण्डको सूचक समान्य अंकले सकारात्मक रहँदा बैंकिङ्ग बीमा सहित उच्च पूँजीकरण भएका कम्पनीको शेयरमूल्य घट्दा अन्य ८ वटा उपसमूहका सूचक ऋणात्मक रहे।

यसदिन नेप्से ५.०१ अंकले घटेर ११३७.०३ बिन्दुमा झरेको छ। २ हजार ९८१ वटा कारोबारबाट १५९ कम्पनीको ७ लाख ३६ हजार कित्ता शेयर १९ करोड ६६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। जुन अघिल्लो दिन मंगलबारको तुलनामा २ करोड ५८ लाख रुपैयाँले थोरै हो।

यस दिन म्याचिङ्ग कारोबारले प्रभु बैंकको शेयर उच्च कारोबार भएको छ । गत आवको मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको यस बैंकको दुई लाख ३ हजार ८०४ कित्ता शेयर ५ करोड ४४ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन ब्रोकर नम्बर ४५ बाट मात्रै एक लाख ५३ हजार कित्ता र ब्रोकर नम्बर ४३ बाट एक हजार ७२५ कित्ता शेयरको म्याचिङ्ग कारोबार भएको छ। ब्रोकर नम्बर ४५ बाट मात्रै ४ करोड बढी र ४३ बाट ४ लाख ६२ हजार रुपैयाँ बराबरको म्याचिङ्ग कारोबार भएको छ ।

यसैगरि नेपाल लाईफको एक करोड ११ लाखको कारोबार हुँदा बाँकी कुनैपनि कम्पनीको कारोबार एक करोड माथि भएको छैन। मेरो माइक्रोफाइनान्स, एभरेष्ट बैंक, एनआईसी एशिया बैंकको ५० लाख माथिको कारोबार हुँदा अन्य बैंकहरु इन्भेष्टमेन्ट, कृषि विकास, नेपाल बंगलादेश र निर्धन उत्थान लघुवित्त शिर्ष दश कारोबार गर्ने कम्पनीमा समेटिएका छन्।

बुधबारको बजारबाट ग्लोबल आइएमई समुन्नत योजनका इकाईधनीले सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने अवसर पाएका छन्। योजनाको इकाईको मूल्य ३.९२ प्रतिशतले बढेर ६ रुपैयाँ ८९ पैसा पुगेको छ। यसैगरि एनएलजी इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर र मुक्तिनाथ विकास बैंकका शेयरको मूल्य ३ प्रतिशत धेरैले सुधार भएको छ ।

उता बुधबार नै १० प्रतिशत बोनसमा शेयरमूल्य समायोजन भएको सिद्धार्थ बैंकको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको शेयर प्रतिकित्ता ४.३२ प्रतिशत अर्थात १३ रुपैयाँले घटेर २९४ रुपैयाँमा झरेको छ । बोनसमा शेयरमूल्य समायोजन भएपनि १५ प्रतिशत नगद लाभंशमा शेयरमूल्य समायोजन नहुने हुँदा बजारमा नगद लाभांशका आधारमा पनि बैंकको मूल्य उच्च घटेको हो।

यसैगरि मेरो माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्तको शेयरमूल्यमा ३ प्रतिशत धेरैले गिरावट आएको छ। गुडविल फाइनान्स, शिबम् सिमेन्टस, नेशनल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, नाडेप लघुवित्त, समता लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशत धेरैले अवमूल्यन भयो।

प्रतिक्रिया