शुक्रबार, वैशाख १४, २०८१

नेपाल बैंकले २३ बर्षपछि यसरी गर्दैछ लाभांश वितरण

नेपालखोज २०७६ असोज ३० गते १४:५७

२९ असोज, काठमाडौँ । नेपाल बैंकले २३ बर्षपछि लाभांश वितरण गर्न लागेको छ । बैंकले २३ वर्षपछि आफ्नै “रेकर्ड ब्रेक” गर्ने तयारी गरेको हो । बैंकले यसपालि पुस मसान्त भित्रै साधारणसभा गरी लाभांश वितरण बारे जानकारी गराउने छ ।

नेपाल बैंकका अधिकारीहरुले दिएको जानकारी अनुसार बैंकले अहिले धमाधम गत आर्थिक बर्षको हिसाबको लेखा परीक्षण गराईरहेको छ । त्यो सकिनासाथ प्रतिबेदनलाई राष्ट्र बैंक पठाएर प्रारभिम्क प्रतिक्रियाको चरण सकिएपछि लगानीकर्तालाई उत्साहित बनाउने खालको निर्णय सार्वजनिक गर्ने सोचाई बनाएको छ ।

अघिल्लै आर्थिक बर्षमा लाभांश वितरण गर्छु भनी बाचा गरेर अन्त्यमा लगानीकर्तालाई धोका दिएको नेपाल बैंक ब्यवस्थापनले त्यसको दोष राष्ट्र बैंकलाई लगाएको थियो तर यसपल्ट भने धोका नहुनेमा लगानीकर्ता बढी नै आशावादी छन् ।

नेपाल बैंकमा ५१ प्रतिशत हिस्सेदारी सरकारको रहेको र सरकारी कोषमा धेरै भन्दा धेरै रकम देखाउनु पर्ने बाध्यतामा सरकार पनि रहेकाले केही मात्रामा बोनस शेयरका साथै नगद लाभांश आकर्षक हुने लगानीकर्ताको आशा छ । बैंकको पूँजी कोष अनुपात १७ प्रतिशत भन्दा माथि रहेकाले पनि उसले बोनसमा धेरै जोड नदिने आँकलन गर्नेहरुलाई बल पुग्छ ।

तर कारोबार बिस्तार गर्दै जाँदा आगामी दिनमा उसलाई थप पूँजीको आबश्यकता पर्ने संभावना भएकाले बोनस वितरणमा पनि विचार गर्नसक्छ । बैंकले आधिकारिक निर्णय गरी राष्ट्र बैंकबाट स्वीकृति नपाएसम्म कुनै पनि कुरामा बहकिएर लगानीकर्ताले निर्णय गर्नु भने घातक हुनसक्छ ।

नेपाल बैंकले गत बर्ष एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर ( एफपीओ) बिक्री गरेको थियो भने शेयर प्रिमियम वापतको तीन अर्ब २६ करोड र शेयरधनी कोषमा तीन अर्ब एक करोड गरी ६ अर्ब २७ करोड वितरण गर्न मिल्ने रकम राखेको छ । शेयर प्रिमियमको रकमबाट बोनस मात्रै बाँड्न पाईन्छ ।

प्रतिक्रिया