शुक्रबार, वैशाख ७, २०८१

लाल आयोगको प्रतिवेदन बारे ३ महिना भित्र निर्णय गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपालखोज २०७६ असोज ३० गते १६:२०

३० असोज, काठमाडौँ । सर्वोच्च अदालतले मधेस थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलाशले बिहीबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो या होइन र नमिल्ने भए के कारणले नमिल्ने हो त्यसको जानकारी लगाउन दिएको हो । अब आदेश पाएको मिति अर्थात आज देखि ३ महिनाभित्र निर्णय गर्न सर्वोच्चको आदेश छ ।

अधिवक्ता शशीधर पाण्डेयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालय र सूचना आयोगको नाममा उत्प्रेषणको आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रीट दिएका थिए । तर उक्त रीट भने खारेज भएको छ।

पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको छानविन आयोगले मधेश आन्दोलनका क्रममा भएका बलप्रयोग, ज्यादती लगायतका विषयमा छानबिन गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

यो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टीले संसदमा अवरोध गरेपछि सभामुखले पटक पटक सार्वजनिक गर्न रुलिङसमेत गरेको थियो । सरकारले भने उक्त प्रतिवेदन अध्ययन गरिरहेको र उपयुक्त समयमा सार्वजनिक गर्ने जवाफ दिदै आएको छ ।

प्रतिक्रिया