शुक्रबार, चैत १६, २०८०

ठगी गर्ने व्यापारीलाई दुई लाख जरीवाना

नेपालखोज २०७६ कार्तिक २ गते ९:५२

२ कार्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि रु दुई लाख रकम जरिवाना तिराएको हो ।

सन्धिखर्क–२, चुत्राबेँसीमा शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा एक किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५०० जरिवाना तिराएको टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिए।
कलवारले सन्धिखर्कका विभिन्न पसलमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा एक किलो घटाएर ४२५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई रु दुई लाख ५०० जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया