बिहीबार, चैत १५, २०८०

आगामी वर्ष करीब एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिने

नेपालखोज २०७६ कार्तिक २ गते १६:३४

२ कार्तिक विराटनगर । दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग खेपिरहेका नेपाली जनताहरुका विद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग आएसँग लोडसेडिङ्ग मुक्त भएको छ । अव लोडसेडिङ्ग मुक्त मुलुक बनाउनका लागि प्रतिवद्ध भएस लागिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्ष करीब एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिने बताएका छन् ।

विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको आयोजनामा भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पूर्व क्षेत्रमा आउने विद्युतलाई नियमित र गुणस्तरीय बनाउन ट्रान्समिसन लाइनहरु बनाउने कार्य भइरहेको र ढल्केवरमा निर्माण भइरहेको सब–स्टेशन आउदो डिसेम्बरदेखि सञ्चालनमा आएपछि नियमित र गुणस्तरीय विद्युत वितरण हुने जानकारी दिएका हुन् । उनले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेको विद्युत ट्रिपिङको समस्या चाँडै नै समाधान गर्ने कार्य भइरहेकाले ढुक्क हुन उद्योगी व्यवसायीहरु आश्वस्त समेत पारे ।

सो कार्यक्रममा पूर्वका उद्योगी व्यवसायीहरुले विद्युत लोडसेडिङको समस्या नभएपनि लो भोल्टेज र ट्रिपिङको समस्याका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका थिए । यसै अवसरमा नेपाल विद्युत प्राधिकरणलाई गुणस्तरीय सेवा प्रवाह र सुशासनमा लैजाने नीति अनुसार काम भइरहेकोले उद्योगी व्यवसायीहरुलाई पनि सहयोग गर्न कार्यकारी निर्देशक घिसिङले आग्रह गरे ।

प्रतिक्रिया