मंगलबार, वैशाख ४, २०८१

एघार वर्षपछि गाउँमा बिजुली बल्यो

नेपालखोज २०७६ कार्तिक ४ गते १३:४८

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन् । स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो ।

सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।

लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताए । “ग्रामीण भेग भएकाले जो कसैले पनि जिम्मेवारी लिएर काम गर्न चाहदैनन्, बजारदेखि टाढा रहेको यस क्षेत्रमा स्थानीयको सहयोगमा सहकारीले गाउँमा विद्युत् विस्तारको जिम्मा लिएर काम गरेको हो”, उनले भने।

विद्युतीकरणका लागि उपभोक्ताबाट प्रतिघरधुरी रु दश हजार रकम उठाइएको छ । वर्षौदेखि टुकीको भरमा जीवन बिताएका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुशी भएको स्थानीय गङ्गा पङ्गेनी बताछन् ।

यस क्षेत्रमा विद्युत् लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्दै आइरहेको उनको भनाइ थियो । अब विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको पङ्गेनीले बताए। यस क्षेत्रमा विद्युत् लाइनको अभावमा विद्यालय, विभिन्न सङ्घसंस्थामा काम गर्न समस्या थियो । सामान्य कामका लागि रामपुर नगरपालिका नै जानुपर्ने समस्या रहेकोमा अब विद्युत् सेवाको शुरुआत भएपछि ठूलो राहत पुग्ने वृहस्पति प्राथमिक विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताए ।

विद्युत् लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत् विस्तार गर्ने योजनाअन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ । बाँकी वडामा विद्युत् विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको छ ।

प्रतिक्रिया